-->
चीनसँग पारबहन सम्झौता हुन्छः महासचिव पोखरेल
Advertisement

१४ फागुन, दाङ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अब गर्ने चीन भ्रमणमा दुई देशबीच पारवहन सम्झौता हुने बताएका छन् ।
प्रधानमन्त्रीको ६ दिने भारत भ्रमण सफल भएको दाबी गर्दै एमाले महासचिव पोखरेलले चीन भ्रमणमा प्रधानमन्त्रीले पारवहन, वाणिज्य, दीर्घकालीन उर्जा र सीमामा कनेक्टीभिटी बढाउने लगायतका सम्झौता हुने दावी गरे ।
‘अब प्रधानमन्त्रीको चीन भ्रमणमा पारवहन सम्झौता हुन्छ । वाणिज्य र उर्जा सम्झौता पनि हुनेछ,’ दाङ देउखुरीको लमहीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा नेता पोखरेलले भने, ‘हामी एकातिर मात्र भरपर्ने होइन, महत्वपूर्ण दुबै छिमेकीलाई हामीले आफ्नो अनुकुल प्रयोग गर्न सक्नुपर्छ ।’
छिमेकी देशहरुका बीचमा सन्तुलित सम्बन्ध नहुँदा मुलुकले समस्या व्यहोर्नुपरेको उनले बताए । नेपाल आत्मनिर्भर नहुँदा छिमेकीले हेपाहा प्रवृत्ति देखाएको भन्दै पोखरेलले अब आत्मनिर्भरताको बाटोमा मुलुकलाई अघि बढाउन सबै तहबाट पहल सुरु गरिने बताए । ‘भारतले सरकार ढाल्ने योजनामा नेपालमा नाकाबन्दी गर्यो तर, सफल हुन सकेन,’ उनले भने, ‘हामीले स्वाभिमानले उठेको शिर झुक्न दिनेछैनौं ।’
उनले आफ्नो पार्टी संविधानको पक्षमा उभिने शक्तिहरुसँग हातेमालो गरी अघि बढ्ने प्रष्ट्याए । ‘संविधानको पक्षमा जो-जो उभिन्छन्, राष्ट्रिय स्वाभिमानको पक्षमा जो उँभिन्छन् उनीहरुसँग एमालेले हातेमालो गर्छ,’ नेता पोखरेलले भने ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका ७ जना युवाहरु एमालेमा प्रबेश गरे । एमाले प्रवेश गर्नेहरुमा राजेन्द्र श्रेष्ठ, रामचन्द्र चौधरी, शुक्रराज चौधरी, देवनारायण चौधरी, उमबहादुर डाँगी, गणेश कुमाल र दीप घर्ती छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.