सुनसरी, फागुन १५ – बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले भुटान ११ लाई ८–० गोल अन्तरले हराएको छ ।
मनाङका लागि अनिल गुरुङले र ओलावालेले ह्याट्रिक पूरा गरे । अनिलले पहिलो हाफको २३ औँ, ३० औँ र दोस्रो हाफको ६० औँ मिनेटमा गोल गरे । यस्तै ओलावालेले ४५ औँ ७२ औँ र ८२ औँ मिनेटमा गोल गरेका गरेका हुन् ।
मनाङका लागि तेज तामाङले ४२ औँ मिनेटमा र दोस्रो हाफको ८० औँ मिनेटमा बिशाल राइले गोल गरे । प्रतियोगितामा आइतबार धरान फुटबल क्लब र रुपन्देही ११ बिच खेल हुनेछ ।Ujyaaloonline बाट
बिराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा साविकको विजेता झापा ११ लाई १-० ले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।
स्थानीय सहिद रंगशालामा भएको खेलमा पुलिसका लागि ८७ औं मिनेटमा भरत साहले निर्णायक गोल गरेका थिए । News24Nepal.com बाट
सुनसरी, फागुन १५ – सुनसरीको धरानमा शनिबारदेखि १८ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितमा भारत र भुटानका एक एकसहित ८ टोलीको सहभागिता छ ।
मनाङ मर्स्याङदी, भुटानको भुटान ११, सशस्त्र प्रहरीको एपिएफ र पोखरा ११ समूह ‘ए’ तथा रुपेन्देही ११, भारतको शारे क्लब कालिङपोङ, नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लब समूह ‘बी’ मा छन् ।
प्रतियोगिताको पहिलो खेलमा शनिबार मनाङ मर्स्याङदी र भुटान ११ खेल्ने छन् । यी दुई बिचको खेल दिउँसो ३ बजेपछि धरानमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदान हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन २२ गते हुनेछ ।Ujyaaloonline बाट
विराटनगर, फागुन १५ – मोरङको विराटनगरमा चलिरहेको विराट गोल्ड कप फुटबलको उपाधिका लागि शनिबार झापा ११ र विभागीय टोली नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई बिचको खेल सहिद रंगाशालमा दिउँसो दुई बजेपछि हुनेछ । साविक विजेता झापा ११ सशस्त्र प्रहरीको एपिएफलाई २–० ले हराएर फाइनलमा प्रवेश गरेको हो ।
यस्तै नेपाल पुलिसले सेमिफाइनलमा आयोजक मोरङ फुटबल क्लबलाई १–० ले हराएर झापा ११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार तथा ट्रफी र उपविजेताले तीन लाख एक हजार तथा ट्रफी प्राप्त गर्ने छन् ।Ujyaaloonline बाट
फागुन १५ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अध्यक्षामा जानी इन्फान्टिनो चयन भएका छन् । स्वीजरल्याण्डको ज्युरिचमा भएको चुनावमा युइएफएका महासचिव समेत रहेका इन्फान्टिनोले एक सय १५ मत प्राप्त गरे । यो उनका निकटतम प्रतिद्वन्द्वी रहेका एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालिफाले प्राप्त गरेको भन्दा २७ मत धेरै हो । चार मत प्राप्त गरेका जोर्डनका राजकुमार अली बिन अल हुसैन तेस्रो स्थानमा रहे । फ्रान्सका जेरोमी स्याम्पेनले एक मत पनि प्राप्त गरेनन् । नवनिर्वाचित फिफा अध्यक्ष इन्फान्टिनोले अब पूर्व अध्यक्ष सेप ब्लाटरको स्थान लिने छ । सन् १९९८ देखि फिफाको अध्यक्ष रहेका ब्लाटर भ्रष्टाचार आरोपमा गएको वर्ष निलम्बनमा परेका थिए । उनीमाथि फिफाको अनुशासन कमिटिले फुटबल सम्बन्धी कुनै पनि गतिविधिमा सहभागि हुन नपाउने गरी ६ वर्षको प्रतिबन्ध लगाएको छ ।
फिफाको अध्यक्षमा निर्वाचित भएका इन्फान्टिनो पेशाले वकिल हुन् । स्वीजरल्याण्डका इन्फान्टिनोको घर ब्लाटरको घरबाट मात्रै ६ माइलको दूरीमा पर्छ । युइएफएका अध्यक्ष मिचेल प्लाटिनी भ्रष्टाचार आरोपमा प्रतिबन्धमा परेपछि इन्फान्टिनाले फिफाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
दुई सय सात जना मतदात रहेको चुनावको पहिलो चरणमा विजेताको टुंगो लागेको थिएन । जितका लागि कम्तिमा एक सय ४ मत ल्याउनु पर्ने भएपनि पहिलो चरणमा इन्फान्टिनोले ८८ मत ल्याएका थिए । त्यसपछि भएको दोस्रो चरणको चुनवामा उनी विजयी भएका हुन् ।
– Ujyaaloonline बाट
काठमाडौं, फागुन १४ - हङ्गकङ्गमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन प्रशिक्षक मनोज खड्गीको नेतृत्वमा ५ सदस्यीय नेपाली टोली शनिबार त्यसतर्फ जाने भएको छ ।
शुक्रबार एक समारोहका बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले टोलीलाई शुभकामना प्रदान गर्दै बिदाई गरे । टप माउन्टेन तेक्वान्दो एकेडेमीको सातौं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजना हुन लागेको प्रतियोगितामा सिनियर ब्लाक बेल्टतर्फ बब्लु सिवाकोटी र किरण श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै जुनियर ब्लाकबेल्टतर्फ राजन भण्डारीले र जुनियर बेल्ट पुम्सेमा मेलिसा खड्गीले प्रतिस्पर्धा गर्ने टोली नेता एवं प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । आफूलाई आयोजकको तर्फबाट मुख्य अतिथीको रुपमा समेत आमन्त्रण गरेको खड्गीले जानकारी गराए ।
फेब्रुअरी २८ र २९, २०१६ मा आयोजना हुने प्रतियोगितामा दक्षिण एशियाका चिन, नेपाल, भारत, पाकिस्तान लगायत एशियाका गरि १२ देशले सहभागिता जनाउने छन् । अघिल्ला प्रतियोगितमा जस्तै यस प्रतियोगिताबाट पनि पदक प्राप्त गर्ने बिश्वास रहेको टोलीमा समाविष्ट सिनियर खेलाडी बब्लु सिवाकोटीले बताए ।
Ujyaaloonline बाट
१४ फागुन, काठमाडौं । विश्व फुटवलको सर्वोच्च निकाय फिफाले आज नयाँ नेतृत्व पाउँदैछ । फिफामा आवद्ध २०७ मुलुकका प्रतिनिधिहरु सेप ब्लाटरको उत्तराधिकारी चयन गर्न फिफा मुख्यालय स्वीट्जसल्याण्डको जुरिचमा भेला भएका छन् ।
फिफाको नयाँ अध्यक्षका लागि पाँच जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा एशियाली फुटबल महासंघका अध्यक्ष तथा बहराइन राजपरिवारका सदस्य शेख सनमान विन इब्राहिम अल खालिफा, जोर्डनका राजकुमार अली विन अल हुसेन, युरोपियन फुटबल महासंघका महासचिव जियान्नी इन्फान्तिनो, फिफाका सल्लाहकार जेरोमी चाम्पेन र दक्षिण अपि|mकाका टोक्यो सेक्सवेल प्रतिस्पर्धामा छन् । फिफामा आबद्ध २०९ सदस्यीय मुलुकहरुमध्ये कुवेत र इण्डोनेशीयाका फुटवल संघलाई फिफाले प्रतिबन्ध लगाएका कारण यी देशका प्रतिनिधिले मतदान गर्न पाउने छैनन् ।
आज राति हुने फिफा नेतृत्वको निर्वाचनका लागि अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसहित दिनेश ब्यञ्जनकार र प्रकाश बिष्टको टोली स्वीट्जरल्याण्ड पुगिससकेको छ । नेपालले फिफा निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी एशियाली फुटबल महासंघका अध्यक्ष तथा बहराइनका राजपरिवारका सदस्य शेख सलमानको पक्षमा मतदान गर्नेछ ।
एन्फाका तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले सलमानलाई फिफा अध्यक्षमा समर्थन गर्ने निर्णय गरेको थियो ।
अनलाइनखबरबाट
मोरङ। हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक रु सात लाख ३४ हजार प्रदान गरिएको छ ।
विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक समारोहका बीच एन्फाका महासचिब धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजङग शाहीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी, विराट गोल्डकप टुर्नामेन्ट आयोजक समितिले खेलाडीहरुको प्रोत्साहनका लागि एन्फालाई रु दुई लाखप्रदान गरेको छ । समितिकै अनुरोधमा विराटनगर उपमहानगरपालिकाले रु एक लाख एक हजार प्रदान गरेको छ ।
यस्तै, उद्योग सङ्गठन मोरङले रु २५ हजार, एमाले मोरङले रु २५ हजार, नेपाली काँग्रेस मोरङले रु २० हजार, मोरङ व्यापार सङ्घले रु ५१ हजार रकम एन्फालाई प्रदान गरेका छन् । मोफसलमा खेलाडीलाई यति ठूलो रकम प्रदान भएको यो पहिलो पटक हो । News24Nepal.com बाट
विराटनगर, फागुन १३ – नेपाल पुलिस क्लब विराट गोल्डकप फुटवलको फाइनलमा पुगेको छ । बिहीबार आयोजक मोरङ फुटबल क्लबलाई १–० ले हराउँदै पुलिस क्लब फाइनल पुगेको हो ।
फाइनल यात्राका लागि पुलिस क्लबका सुमन सुवेदीले निर्णायक गोल गरे । खेलको ८९ औँ मिनेटमा सुवेदीले टिम जित दिलाएका हुन् । हेमन गुरुङको कर्नर किक सुवेदीले हेड मार्फत गोल गरेका हुन् ।
पुलिसले मोरङ विरूद्ध खेलको अन्त्यतिर निकै आक्रामक प्रदर्शन गरेको थियो । फाइनलमा पुलिससँग झापा–११ को भेट हुँदैछ । सशस्त्र प्रहरीको एपिएफलाई २–० ले पराजित गरेर झापा–११ फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार हुनेछ ।
दर्शक कुटिएको तस्बिर लिन पुगेका पत्रकार कुटिए
खेलको अन्त्यतिर दर्शकले खेल मैदानमा पानीको बोतल फालेपछि प्रहरीले दर्शकमाथि लाठि चार्ज गरेको छ । जडपको रिपोर्टिङ गर्न गएका उज्यालोका सहकर्मी सुमन तिमल्सिनामाथि पनि हातपात भएको छ ।
प्रहरीले लाठी चार्ज गर्दै कुटपिट गर्न थालेपछि त्यसको फोटो खिच्न लागि नजिकै पुगेका तिमल्सिनालाई अगाडीबाट प्रहरीले क्यामेरा खोसेर पछाडीबाट सिभिलमा रहेका प्रहरीले हातपात गरेका छन् । प्रहरीको कुटपिटबाट दुई जना दर्शकसमेत घाइते भएका छन् । उनीहरुको विराटनगर अस्पतालमा उपचार भइरहेको आयोजकले जनाएको छ ।ujyaaloonline बाट
१३ फागुन, काठमाडौं । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टीमलाई भारतमा हुने टी-२० विश्वकपमा भाग लिन अनुमति दिएको छ ।
विश्वकप मार्च ८ देखि सुरु हुनेछ । र, पाकिस्तानले आफ्नो पहिलो खेल मार्च १४ मा कोलकत्तामा खेल्नेछ ।
पाकिस्तान र भारतबीच क्रिकेट सम्वन्धमा लामो समयदेखि चिसोपन आएको छ ।
तर, पाकिस्तान सरकारले टी-२० विश्वकपमा भाग लिने अनुमति दिएको छ र, यो यो प्रतियोगिताका लागि मात्र भएको सरकारले बताएको छ ।
अहिले ढाकामा रहेका पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शाहरयानर खानले भने, मलाई खुसी लागेको छ कि हाम्रो सरकारले टीमलाई भारतको भ्रमण गर्ने अनुमति दिएको छ ।’
क्रिकेट बोर्डले टीमका लागि भारतमा विशेष व्यवस्था गर्न भनेको उनले बताए । साथै उनले पाकिस्तानी क्रिकेट समर्थकको भिसा र अन्य सुविधालाई अघि बढाइने उनको विश्वास छ ।
यो विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा छन् र १९ मार्चमा धर्मशालामा खेल्नेछन् ।
अनलाइनखबरबाट
अर्जेन्टिनी फुटबलर लियोनल मेसीको ‘होममेड’ जर्सी लगाएर विश्वव्यापी चर्चामा आएका अफगानी बालकले मेसीबाटै साँच्चकै जर्सी प्राप्त गरेका छन् ।
पोलिथन ब्यागमा मेसीको नाम लेखेर जर्सी बनाएका उनको तस्वीर इन्टरनेटमा भाइरल बनेको थियो ।
अफगानिस्तानका ५ वर्षीय बालक मुर्तजा अहमादीलाई मेसीको हस्ताक्षर सहितको टिशर्ट र फुटबल उपलब्ध गराइएको हो ।
मेसीको व्यवस्थापनले यसको पुष्टि गरेको छ ।
मुर्तजालाई सुरुमा इराकी बालक भनेर प्रचारित गरिएको थियो । उनको तस्वीर प्रकाशित भएपछि मेसीले खोजी गर्दा उनी अष्ट्रेलियामा बस्ने अफगानी बालक भएको पत्ता लागेको हो । ‘म मेसीलाई माया गर्छु र मेरो टिसर्टमा लेखिएको छ कि मेसीले मलाई माया गर्छन्’ मुर्तजाले बीबीसीलाई भने ।
उनले मेसीले गोल गर्दाको शैलीमा फोटोग्राफरलाई पोज पनि दिएका छन् ।
अनलाइनखबरबाट
१२ फागुन, काठमाडौं । आगामी १८ फागुनदेखि पूर्वाञ्चलमा सुरु हुने भनिएको सातौं राष्ट्रिय खेलकुद फेरि सर्ने निश्चित भएको छ ।
दुई वर्ष ढिला गरी यस वर्ष राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न कारण देखाएर प्रतियोगिताको मिति दुईपटक सारिसकेको छ ।
प्रत्येक दुई-दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद नियमित कार्यक्रमअनुसार ०७० सालमा भइसक्नुपर्ने हो । तर, देशको अस्थिर राजनीति तथा परिषदमा राजनीतिक खिचातानीका कारण निर्धारित समयबाट पर धकेलिँदै आएको थियो । गत असारमा केशव कुमार विष्ट सदस्यसचिवमा नियुक्त भएदेखि सातौं राष्ट्रिय खेलकुदको तयारी थालिएको थियो ।
राष्ट्रिय खेलकुद सातौं संस्करण पूर्वाञ्चलका जिल्लामा ११ मंसिरदेखि आयोजना गर्ने भनिएको थियो । तर, मधेस आन्दोलन, भारतीय नाकाबन्दी र समयमै बजेट निकासा नभएको कारण देखाई परिषद्ले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको थियो । १२औं सागपछि प्रतियोगिता गर्ने निर्णयअनुसार १८ फागुनदेखि सातौं राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने हो । तर, यसपटक पनि प्रतियोगिताको मिति सर्ने निश्चित भएको छ ।
बजेट नै मुख्य कारण
प्रतियोगिताको मिति पटकपटक सर्नुमा परिषद्ले बजेट निकासा नहुनुलाई मुख्य कारण मानेको छ । परिषदका सदस्य-सचिव केशवकुमार विष्टले बजेटकै कारण यसपटक पनि प्रतियोगिता सार्नुपरेको दुखेसो गरे । सदस्य-सचिव विष्टले भने, ‘भौतिक पूर्वाधारमा हामीलाई समस्या छैन । सरकारले बजेट निकासामा गरेको ढिलाइका कारण प्रतियोगिता सार्नुपरेको हो ।’
राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट सम्पन्न भइसकेको छ । तर, जिल्ला छनोटमा भएको खर्चको समेत निकासा नभएको सदस्य-सचिव बताउँछन् । ‘जिल्ला छनोटको अहिलेसम्म बजेट निकासा भएको छैन,’ उनले भने, ‘क्षेत्रीय छनोट गर्न बाँकी नै छ । त्यसका लागि हामीलाई प्रतिक्षेत्र दुईदेखि तीन करोड आवश्यक हुन्छ । बजेटकै अभावले क्षेत्रीय छनोट पनि गर्न सकेका छैनौं ।’
परिषद्ले सातौं संस्करणका लागि भनेर गएको भदौमै खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा बजेट माग गरेको थियो । माग भएको २३ करोड अहिलेसम्म निकासा नभएकाले खेलकुद प्रतियोगिता पटक-पटक सार्नुपरेको हो । साग गेम्सका लागि पनि अर्थ मन्त्रालयले निकै ढिलागरी मात्र बजेट विनियोजन गरेको थियो ।
सदस्य-सचिव विष्टका अनुसार अबको १०/१५ दिनमा पनि बजेट निकासा नभएमा राष्ट्रिय खेलकुदको मिति अझै लम्बिन सक्छ ।
सातौं राष्ट्रिय खेलकुद वैशाखमा गर्ने परिषद्को तयारी
समयमै बजेट निकासा भएमा प्रतियोगिता वैशाखमा गर्ने तयारी परिषद्ले थालेको छ । सदस्य सचिव विष्टले छनोट प्रक्रिया सुरु भइसकेको तथा केही खेल सम्पन्न भइसकेको अवस्थामा सातौं राष्ट्रिय खेलकुदको आयोजना लम्ब्याउन नहुने तर्क गरे ।
खेलकुद मन्त्री श्रीलंका भ्रमणमा रहेकाले परिषद्को बोर्ड बैठक बस्न सकेको छैन । ‘मन्त्री श्रीलंकाबाट फर्किएलगत्तै बस्ने बोर्ड बैठकले अर्को मिति टुंगो लगाउनेछ, एक साताभित्रै बोर्ड बैठक बस्छौं,’ सदस्य सचिव विष्टले भने ।
वैशाखमा गर्मीको समस्या, प्रदर्शनमा असर पर्छः प्रशिक्षक
परिषद्ले वैशाखमा प्रतियोगिता तयारी गरेपछि अब अर्को बहस सुरु भएको छ- गर्मीका कारण खेलाडीको प्रदर्शनमा असर पर्न सक्छ । पूर्वाञ्चलका तराई जिल्ला मोरङको विराटनगर र सुनसरीको इटहरीमा प्रतियोगिताका धेरै खेल सञ्चालन हुनेछन् । वैशाखको गर्मीमा खेलाडीले असहज महसुस गर्न सक्छन् ।
तर, सदस्य-सचिव विष्टले भने त्यसलाई व्यवस्थापन गर्न सकिने प्रतिक्रिया दिए । ‘वैशाखमा दिन लामो हुन्छ । बिहान र बेलुकी खेल गराएर पनि व्यवस्थापन गर्न सकिन्छ । गर्मीको समस्या ठूलो होइन,’ सदस्य-सचिव विष्टले भने । विष्टले बिहान ७ देखि ११ सम्म र बेलुकी २ देखि ७ बजेसम्म खेलाउने तयारी भइरहेको बताए ।
तर, प्रशिक्षकहरुले भने गर्मी याममा खेलाडीको प्रदर्शन २० को १९ हुने बताउँछन् । एथ्लेटिक्सका प्रमुख प्रशिक्षक सुशील नरसिंह राणाले तराईको गर्मीमा ‘आउट डोर गेम’का खेलाडीको प्रदर्शन प्रभावित हुने धारणा राखे । राणाले भने, ‘आउट डोर गेम’ का लागि वैशाखको समय प्रतिकूल मौसम हो । तर, विभिन्न कारण प्रतियोगिता सर्दा आयोजना ढिला भइसकेको छ । नहुनुभन्दा भएको राम्रो ।’
यता, कीर्तिमानी तेक्वान्दो खेलाडी तथा अहिलेका राष्ट्रिय प्रशिक्षक दीपक विष्टले पनि वैशाखको मौसम प्रतिकूल हुने बताए । ‘तर ०७० मै हुनुपर्ने प्रतियोगिता अहिलेसम्म नहुँदा खेलकुदमा नयाँ खेलाडीको आगमनमा समस्या भएको छ,’ ‘विष्टले भने, ‘नयाँ-नयाँ खेलाडीलाई अवसर दिन यस्ता प्रतियोगिता नियमित हुनुपर्ने हो । त्यसैले ढिला भइसकेको छ । वैशाखमा भए पनि समस्या हुँदैन, नेपाली खेलाडीले जुन मौसम पनि पचाउन सक्छन् ।’
अनलाइनखबरबाट
काठमाडौं, फागुन १२ - भारतमा भएको १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी उसुकी निमा घर्ती मगर र जुडोकी फुपु ल्हामु खत्रीलाई युनिभर्सल युनाइटेड तेक्वान्दो महासंघले सम्मान गरेको छ ।
उनीहरुलाई बुधबार सातदोवाटोस्थित मैत्री तेक्वान्दो डोजाङ्गमा आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव केशव कुमार बिष्टले ५० हजार बराबरको चेक तथा प्रशंसा पत्र प्रदान गरे । त्यस अवसरमा अल्ट्रा धावक मिरा राईलाई पनि प्रशंसा पत्र सहित ७५ हजारको चेक प्रदान गरिएको थियो । उनी विश्व अल्ट्रा च्यम्पियनसिपमा दोश्रो स्थान हात पार्न सफल भएकी थिईन् । लामो समय माओबादीमा लागेकी उनी दुई बर्ष अघिमात्र खेलकुदमा लागेको उनले बताईन् ।
खेलाडीलाई सम्मान गर्दै महासंघका अध्यक्ष राजकुमार राईले बिदेशमा बसेर पनि खेलकुदको माध्यमले राष्ट्रको नाम उच्च राख्न योगदान गरेकोमा आफू धन्य भएको बताए । यसका साथै खेलाडीहरुको हौसला अभिबृद्धि गर्न सदा लागि पर्ने समेत उनले बताए ।ujyaaloonline बाट
सशस्त्र प्रहरीको एपिएफ क्लबमाथि सहज जित निकाल्दै रमपम झापा–११ ले विराट गोल्डकपको फाइनलमा पुगेको छ। बुधबार एपिएफलाई २–० गोलले पराजित गरी झापाले फाइनल यात्रा तय गरेको हो।
इलाममा भएको माईभ्याली गोल्डकपको फाइनलमा पनि एपिएफ झापासँगै हारेको थियो। त्रिभुवन आर्मी क्लबलाई १–० ले जितेर सेमिफाइनल आइपुगेको एपिएफको चुनौतीलाई झापाले सजिलै पन्छायो।
एपिएफका आदित्य चौधरीले सुसाइड गोल गर्दा झापाले खेल सुरु भएको १५ मिनेटमा अग्रता लिएको थियो। झापाका कर्ण लिम्बूले क्रस पास निकालेको बल चौधरीेले रोक्न खोज्दा जालीतिर सोझिएको थियो।
खेल सकिन अन्तिम मिनेट बाँकी रहँदा झापाका खमिर गिल्सन कन्दङ्वाले अर्को गोल थपेका थिए। वान भर्सेस वान बललाई उनले पोस्टको दिशा दिएका थिए।
बिहीबार हुने अन्तिम सेमिफाइनलको नतिजाले झापाको प्रतिद्वन्दी टुंगो लाग्ने छ। बिहीबार मोरङ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच अन्तिम सेमिफाइनल खेल हुँदैछ। दुबै टिमसँग परिचित रहेको झापाले उपाधि रक्षाका निम्ति अब चुनौती सकिएको दाबी गरेको छ।
'उपाधिका लागि अब ठूलो चुनौती छैन,' जितपछि झापाका प्रशिक्षक भगिरथ आलेले सेतोपाटीसँग भने,'यसपालि पनि उपाधि हाम्रो हातमा जाने निश्चित छ।' नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लबसँग आफूहरू परिचित रहेकाले आगामी यात्रा सफल रहने दाबी उनको छ।
पहिलो हाफमा झापा एपिएफमाथि हावी भयो। एपिएफलाई कडा चुनौती दिए पनि उसले पहिलो हाफमा थप गोल भने गर्न सकेन। सुमिन मैनालीको आकर्षक प्रहार एपिएफका गोलकिपर सबिन रेग्मीले समातेका थिए।
पहिलो हाफमा टोप विष्टले दिएको पासलाई रञ्जन विष्टले पोष्टको दिशा दिए तर उक्त बललाई झापाका गोलरक्षक विनय श्रेष्ठले पञ्च गरेर बाहिर पठाइदिए। दोस्रो हाफमा झापामाथि एपिएफले दबाब बढायो तर स्कोर भने गर्न सकेन। एपिएफका कप्तान गणेश लावतीले निकालेको बल सन्तोष श्रेष्ठले हेड गरे तर गोल पोलबाहिर गयो।
टोप विष्टको क्रस पासमा सन्तोष श्रेष्ठले गरेको अर्को आकर्षक प्रहार झापाका गोलकिपरले पञ्च गरेर बाहिर पठाए। रञ्जन विष्टले लगातार दुई पटक गरेका आकर्षक प्रहार खेर गएका थिए। एपिएफले झापासँग दबाब बढाउने क्रममा धेरैपटक कर्नर किकको अवसर सिर्जना गर्यो तर गोलका निम्ति ती खेर गए।
झापाका कर्ण लिम्बू म्यान अफ द म्याच भए। प्रशिक्षक आलेले आर्मीसँगजस्तो एपिएफले प्रदर्शन देखाउन नसकेको फाइदा झापाले लिएको बताए। 'टेक्निकल्ली रुपमा हामीले राम्रो खेल्यौं, एपिएफ फिजिकल्ली राम्रो देखिन्थ्यो,' उनले भने।
जर्ज टेलिग्राफसँगको खेलमा कप्तान नरेन्द्रमणि नेम्वाङले रातो कार्ड खाएपछि झापा सशंकित थियो। प्रशिक्षक आलेले भने, 'मलाई शंका थियो तर कप्तानको ठाउँमा मैदान ल्याइएका जुनियर खेलाडीले राम्रो खेले, फाइनलमा कप्तानसहित प्रस्तुत हुने हुनाले उपाधि सहज हातलाग्ने दाबी गरेका हौं।' गत वर्षको संस्करणमा पनि झापाले विराट गोल्डकप जितेको थियो। सेतोपाटीबाट
१२ फागुन, काठमाडौं । लिओनल मेस्सीले दुई गोल गरेपछि च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको पहिलो लेगमा बार्सिलोनाले आर्सनललाई हराएको छ ।
मंगलबार राति व्यहोरेको २-० को हारसँगै आर्सनल लगातार छैटौं सिजन पनि च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिने सम्भावना बलियो भएको छ । आर्सनलले अब दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा खेल्नेछ, जहाा मेस्सी, नेयमार र स्वरेज हुनेछन् ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका चेम्बरलेन र ओलिभर रिजउडले गोल गर्ने राम्रो मौका पाएका थिए । तर, ७१ औं मिनेटमा नेयमार र स्वरेजसहित संलग्न भएको काउन्टर अट्याकमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
त्यसको छ मिनेटपछि नै म्याथु फल्मिनीले मेस्सीलार्इ फल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले गोल गरे । यो च्याम्पियन्स लिगमा आर्सनलविरुद्ध उनको आठौं गोल समेत हो ।
खेलमा बार्सिलोना हावी भएको थियो । उसका लुइस स्वरेजको प्रहार बारमा लागेको थियो भने अर्का स्ट्राइकर नेयमारको गोल प्रयासलाई आर्सनलका किपर पिटर चेकले असफल पारेका थिए ।
अनलाइनखबरबाट
