-->
बाबुरामलाई प्रचण्डको चुनौती: गोरखामा चुनाव जितेर देखाऊ
Advertisement

सिङ भएको गोरु पीएचडी गर्दैमा बुद्धिमानी हुँदैन
गोरखा: एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेका नयाँ शक्तिका नेता बाबुराम भट्टराईलाई उनको गृहजिल्ला गोरखामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।
शुक्रबार साँझ भट्टराईको गृहजिल्ला गोरखा आइपुगेका एमाओवादी अध्यक्ष प्रचण्डले बाबुरामले गोरखा जित्नै नसक्ने बताएका हुन् ।
शनिबार बिहान होटल मिराकलमा पत्रकारहरुसँगको भेटमा प्रचण्डले लामो समय बाबुरामको आलोचनामा खर्चँदै प्रचण्डले यसअघिको जित उनको नभइ पार्टीको भएको जिकिर गरे ।
‘बाबुरामजीलाई लागेको हुनसक्छ, मैले जितेको हुँ । त्यो जीत उहाँको हैन, पार्टीको हो’, उनले भने, ‘लौ त अब जितेर देखाउनुस् । पढेको भनेर हुन्छ ?’
संसारभरिका प्रतिक्रियावादी, साम्राज्यवादी षड्यन्त्रकारीहरु मिले भने मात्रै बाबुरामले जित्ने उनले टिप्पणी गरे । ‘ल त अब जनताको मन जितेर देखाउन् बाबुरामले । संसारभरिका साम्राज्यवादी, षड्यन्त्रकारी नलागी बाबुरामले जित्दैनन्’ उनले भने, ‘राजनीति भनेको निष्ठामा गर्ने हो । तर बाबुरामजीको निष्ठा कति कमजोर देखियो ।’
बाबुरामले गरेको घात पार्टीको मात्र नभै राष्ट्रको घात, सिद्धान्तको घात र आदर्शको घात भएको उनले आरोप लगाए । बाबुरामको पढाइप्रति लक्षित गर्दै उनले पीएचडी गर्दैमा गोरु वुद्धिमानी नहुने टिप्पणी गरे ।
‘मेरो एकजना साथीले भन्नुहुन्थ्यो, गोरुको सिङमा पिएचडी गर्दैमा गोरुको बुद्धि आउँदैन भनेर’ उनले भने ‘बाबुरामजीको हकमा पनि त्यस्तै भएको छ । पीएचडी गरेका त हजारौं छन् यहाँ । सेक्सन अफिसरको जागिर खान नपाएर हालत भाको छ ।’
बीसौं, पच्चीसौं वर्ष सँगै काम गरेको पार्टीलाई रातारात छाडेर बाबुरामले मान्छेको मूल्य, मान्यता र नैतिक धरातलै छाडेको आरोप पनि उनले लगाए । ‘मान्छेको एउटा मूल्य, मान्यता र नैतिक धरातल हुन्छ नि’ उनले भने, ‘बाबुरामजीको निष्ठाचाहिँ कति कमजोर रहेछ भन्न देखियो । त्यति अनैतिक पनि हुनुहुन्छ त ? पच्चीसौं वर्ष सँगै काम गरेको मान्छेलाई थाहै नदिई लुक्नु पर्ने के थियो ?’
बाबुरामले गुरु मानेका मोहन बिक्रमले जिल्लाबाट माथिल्लो तहमा ल्याउनै नहुने मान्छे हो भन्दा भन्दै पनि आफूले माया गरेर सेलबाट पोलिटब्यूरोमा ल्याएको स्मरण गरे ।
‘मोहनबिक्रमले बाबुराम महत्वकांक्षी छ । यो मान्छेले धोका दिन्छ भनेका थिए । अलिक पढेलेखेको मान्छेलाई मोहनबिक्रमले देखिसहन्नन् भनेर मैले सेलबाट उठाएर पोलिटव्यूरोमा लगेको हो’, उनले भने, ‘पढेलेखेको मान्छेले राम्रो गर्छ भन्ने हाम्रो मध्यमबर्गीय समाजमा अन्धविश्वास छ । त्यही अन्धविश्वासमा लागेर मैले न्याय गर्नुपर्छ भनेर उनलाई मैले स्थान दिएँ । नभन्दै ‘सरप्राइज’ दिएर जानुभयो ।’
बाबुरामजीलाई धेरै गाली गर्नु छैन भन्दै लामो समय गाली गरेपछि अन्तिममा उनले बाबुरामले छाडेपछि आफूलाई आनन्द भएको समेत टिप्पणी गरे । ‘अस्ति एकदिन बाबुरामजीले भन्नु भयो, तपाईँ त मोटाउनु भएछ’ उनले हाँस्दै भने ‘अहिले मलाई आनन्द भएको छ ।’
प्रचण्डले माथिबाट नभए तलबाट बामपन्थी एकता हुने बताए । ‘बामपन्थीहरु एक हुने, फुट्ने क्रम चलिरहने प्रक्रिया हो । २०४६ सालदेखिको घटनाक्रमलाई हेर्नुस् । यस्तै भएको छ । अहिले पनि तीन दिनअघि वैद्यजी लाजिम्पाट आएर वार्ता कमिटी बनाएर अब टुंग्याऔं भन्नु भएको छ । उहाँसँग एकता हुनेछ’, , उनले भने ‘उहाँसँग मात्र हैन विप्लवजी, मणिजी, मात्रिकाजी सबैसँग एकता हुन्छ । अब कसैले रोक्न सक्दैन । माथिबाट नभए तलबाट एकता हुन्छ । बीचबाट एकता हुन्छ । एकताचाहिँ हुन्छ ।’
प्रधानमन्त्रीको भ्रमणमा नयाँ केही भएन
प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा उनले कुनै नयाँ नभइ पुरानै काम र कुरा मात्र भएको बताए । ‘राजकीय सम्मानकासाथ प्रधानमन्त्रीले भारत भ्रमण त गर्नुभयो यद्यपि नयाँ कुराहरु केही भएका छैनन्’ उनले भने ‘पुराना कुराहरुमा केही समझदारीहरु मात्र भएका छन् । त्यसमा विशाखापटनम र बंगलाबन्द बन्दरगाहबारे केही समझदारी भएका छन् । अब फेरि पहिले जस्तो नाकाबन्दी चाहिँ सामना गर्नुपर्ने छैन भन्ने मलाई लागेको छ ।’
संविधानको बारेमा रिजर्भेसन बाँकी नै रहेको, आपूर्ति पूर्ण सुचारु नभएको उनले टिप्पणी गरे । तर राष्ट्रिय हितबिरुद्ध कुनै पनि सहमति, समझदारी नभएको उनले बताए ।
‘भ्रमणमा उहाँले दिन पनि केही दिएको भन्नै देखिँदैन । लिएको पनि धेरै केही देखिँदैन’, उनले भने ‘चिसिएको सम्बन्ध सुमधुर बनाउन वार्तालाप भयो । यसैलाई अघि बढाउनुपर्छ । ब्यापार पाराबहनका, पुननिर्माणका कुराहरु सबै पुराना कुराहरुमा मात्र समझदारी भएका छन् ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.