पुस २५ |
दोलखा– केही समययता विभिन्न
सञ्चारमाध्यममा दोलखामा
चिसोका कारण भूकम्पपीडितको मृत्यु
भएको समाचार आयो । तर, चिसोका
कारण मात्र जिल्लामा कुनै पनि
नागरिकका मृत्यु नभएको खुलासा
भएको छ । रातोपाटीसँग कुराकानी
गर्दै जिल्ला स्वास्थ्य कार्यालय
दोलखाले चिसोकै कारण मात्र
दोलखामा कोही पनि
भूकम्पपीडितको मृत्यु नभएको जनाएको
हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख
भन्छन्
जिल्ला स्वास्थ्य कार्यालय
दोलखाका प्रमुख डा. माधव लम्सालले
बाहिर समाचारमा आए जसरी
चिसोका कारण मात्र कुनै पनि
भूकम्पपीडितको मृत्यु नभएको स्पष्ट
पारेका छन् । ‘स्वास्थ्य सेवा र
औषधिको कमीका कारण भूकम्पको
सुरुवाती समयदेखि हालसम्म
दोलखावासीले उपयुक्त स्वास्थ्य सेवा
लिइरहेकाछन्,’ उनले भने, ‘दीर्घ रोगीहरू
दम, प्यारालाइसेस र किड्नीजस्ता
रोगका कारण अन्य समयअनुसारकै दरमा
मृत्युदरको तथ्यांक सार्वजनिक हुँदा
यसमा आत्तिनु हुँदैन ।’
चीनको स्वशासित क्षेत्र तिब्बतको
सिमानामा रहेको दोलखाका बिगु,
लामाबगर, गौरीशंकर बुलुङ, लादुकजस्ता
ग्रामीण भेगका प्रत्येक वडामा महिला
स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य
चौकीमा हेल्थ असिटेन्ट, अहेब,
अनमीहरूले स्वास्थ्य संस्था नछोडी
काम गरिरहेको उनले बताए ।
भेरिफाई नगरी हल्लाको पछाडि
लागियो : जिप्रका
जिल्ला प्रशासन कार्यालय दोलखाले
प्रत्येक दिनको बिरामीको
रिपोर्टसमेत कार्यालयले राख्ने गरेको
छ । तर, उक्त रिपोर्टसँग मृत्यु हुनेहरू
चिसोका कारण हो वा अन्य कारण
भेरिफाई नगरी हल्ला गर्नु आफैँमा गलत
भएको दोलखाको स्थानीय प्रशासनले
जनाएको छ ।
‘दमका बिरामीलाई धुवाँ, धुलो र
चिसोबाट जोगाउनुपर्छ । यो समयमा
बढी दमका बिरामीलाई सताउने गर्छ,’
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख
डा. लम्सालले थपे, ‘गाउँ घरमा उखानै
छ– मोटाघाटा बाघलाई, बुढाबुढी
माघलाई । बढी दमका बिरामी
वृद्धवृद्धा हुने भएकाले चिसोको समयमा
आमाबुबा र बालबालिकाको बढी
हेरविचार गर्नुपर्छ ।’
न्यानो कपडाको बढीभन्दा बढी
प्रयोग गर्नुपर्ने डा. लम्साल बताए ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र
लामिछानेले कुनै कुराको
आधिकारिताका लागि सम्बन्धित
निकायलाई नसोध्दा सामाजिक
सद्भावमै असर पर्न सक्ने हुनाले हतार
नगरी काम गर्न सुझाव दिएका छन् ।
कसको कुन रोगले मृत्यु भयो ?
जिल्ला स्वास्थ्य कार्यालय
दोलखाले चिसोका कारण मृत्यु नभई
हालसम्म दोलखाको मेलुङ– ८ का ७०
वर्षीय जितबहादुर श्रेष्ठको दमका
कारण मृत्यु भएको कार्यालयले
जनाएको छ । उनी दमका दीर्घरोगी
हुन् । मेलुङ– ८ कै ६८ वर्षीया
विष्णुमाया श्रेष्ठको पनि दमका
कारण मृत्यु भएको स्वास्थ्य
कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भैँसीको दूध दुहुने
क्रममा विष्णुमायाको मृत्य भएको हो
। त्यस्तै, बुलुङ–८ का ६८ वर्षीय
भक्तबहादुर मगरलाई
श्वासप्रश्वाससम्बन्धी समस्या थियो,
उनले एक महिनादेखि स्वास्थ्य
संस्थामा उपचार गराउँदै आएका थिए ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
त्यसैगरी दोलखा झुले– ७ का ८३ वर्षीय
लालबहादुर कार्की, गैरीमुदी– ५ का
८० वर्षीय भक्तबहादुर तामाङ, जफे– १
का भद्रकुमारी पोखरेल, चंखु–७ का ५५
वर्षीय मिठु तामाङ, लापिलाङ– ३
का ८४ वर्षीय गम्भीर थामी, पवटी– ४
का ६५ वर्षीय बमबहादुर तामाङ,
शैलुंगेश्वर– ५ का ८२ वर्षीय देवकुमार
कार्की र कालिञ्चोक– १ का ६६
वर्षीया सानुमाया थामीको
श्वासप्रश्वास समस्या, जिब्रोको
क्यान्सर, मिर्गौलाले काम गर्न छोड्नु,
आजमा, दम, रक्तअल्पताजस्ता विभिन्न
रोगका कारण मृत्यु भएको दोलखा
जिल्ला प्रशासनले जनाएको छ ।
त्यसैगरी, गैरीमुदी– ४ का ७८ वर्षीया
उर्ली तामाङ, डाँडाखर्क– ८ का ९५
वर्षीय धनराज तामाङ, सुन्द्रावती– २
का बुधमाया, खोपाचाँगु– २ का
टपिन्द्र पाण्डे, भविन्द्र बस्नेत,
मागापौवा– ३ का प्रेमबहादुर थापा
र फस्कु– ३ का राधा बस्नेत लगायतको
पनि श्वासप्रश्वास समस्या,
जिब्रोको क्यान्सर, मिर्गौलाले काम
गर्न छोड्नु, आजमा, दम,
रक्तअल्पताजस्ता विभिन्न रोगका
कारण मृत्यु भएको जिल्ला स्वास्थ्य
कार्यालय दोलखाले पुष्टि गरेको छ ।
राहतको आशमा भ्रमको खेती
जुनसुकै कारणले मृत्यु भए पनि चिसोेका
कारण मृत्यु भएको भनी हल्ला गर्नुको
एक मात्र कारण भने सरकारले राहत
दिन्छ भन्ने आश भएको स्थानीय
बताउँछन् । चिसोेका कारण मृत्यु भएको
भन्ने खबर जाँदापछि सरकारले थप राहत
दिन्छ भन्ने आश मृत परिवारका कतिपय
आफन्तसँग छ । राटोपाटीसँग
कुराकानी गर्दै स्थानीय विकास
अधिकारी सीता परियारले भनिन्,
‘सिरककै अभावमा कसैको पनि मृत्यु
भएको छैन ।’
मृत्युदर गत वर्षकै जस्तो हो
चिसोेकै कारण मृत्यु भएको भन्ने
समाचार बाहिरिए पनि मृत्युदर भने गत
वर्षकै जस्तो भएको स्थानीयले
बताएका छन् । विगतका वर्षमा पनि
यति मान्छे मर्ने गरेको तर अहिले दोष
भूकम्पले पाएको स्थानीयको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय
दोलखाको ०७१ सालको
प्रतिवेदनअनुसार दोलखाको मृत्युदर २.३
छ । दोलखावासीको सरदर आयु ६३.५ छ
। जब कि मृत्यु हुने सबैजसोको उमेर औसत
आयुभन्दा बढी छ । प्रतिवेदनअनुसार
दोलखामा वार्षिक नौ हजारको
हाराहारीमा दोलाखावासीको
मृत्यु हुने गर्छ । गत वर्षको चिसोेको
मौसममा यस वर्षभन्दा बढीको मृत्यु
भएको विभिन्न रिपोर्टले जनाएका
छन् ।ratopati बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...