-->
मलाई ‘अन्डरमाइन्ड’ गरे,सभापतिमा उठ्छुः सुजाता कोइराला
Advertisement


नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफूलाई संस्थापन पक्षका नेताहरुले ‘अन्डरमाइन्ड’ गरेको भन्दै आसन्न १३ औँ महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेकी छिन्। उनले पछिल्लो समय कार्यबाहक सभापति रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुले आफूलाई माइनस गरेर अघि बढेको भन्दै आफू सभापतिमै चुनाव लड्ने बताएकी हुन्। उनले आफूले सभापतिमा उड्ने निर्णयबाट अब ‘ब्याक’ हुन नसक्ने समेत स्पष्ट पारिन्। प्रस्तुत छ सेतोपाटीका लागि बिष्णु बुढाथोकी र
माधव धितालले नेतृ कोइरालासंग गरेको कुराकानीको सम्पादित अंशः
-आसन्न १३ औं महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने घोषणा गर्नु भएको छ? के का लागि हो तपाईको उम्मेदवारी?
मैले धैरै पहिलेदेखि नै सभापतिमा लड्छु भन्दै आएकी थिए। त्यसमै लड्ने हो। नेपाली कांग्रेस अब पुरातनबादी सोचबाट अघि बढ्न सक्दैन त्यो सोचलाई पनि परिवर्तन गरेर आधुनिक पार्टी बनाउन जरुरी छ। हामी नयाँ युगमा पनि हामी प्रवेश गरेका छौैं। गणतन्त्र स्थापनासंगै मुलुकले कांग्रेसकै नेतृत्वमा नयाँ संविधान पाएको छ। यो संसारकै उत्कृष्ट संविधान आएको छ। संविधान जारी भएसंगै नयाँ युगमा हामी प्रवेश गरिसकेका छाैं, त्यसै अनुसार पार्टीको संरचना बनाउन र विधान परिमार्जन गर्न जरुरी छ। पार्टीभित्रको गुटबन्दी १३ औँ महाधिवेशनबाट समाप्त गर्नुपर्छ। त्यसका लागि मेरो प्रयास रहनेछ। पार्टीलाई सशक्त र सबल बनाएर पार्टीलाई लैजान जरुरी भएको छ त्यसका लागि म सक्षम छु।
नयाँ अनुहार अब पार्टीको नेतृत्वमा आउनु पर्छ। सधै पुराना नेताहरुले मात्रै नेतृत्व गर्नु पर्छ भन्ने छैन। उहाँहरु अब हाम्रो अभिभावक भएर बस्नु पर्छ। अब कार्यकर्ताले नयाँ विचार चाहेका छन्, नयाँ नेतृत्व चाहेका छन्, युवाको नेतृत्व चाहेका छन्। पुरानै लुगा लगाउँदा कस्को आँखा जान्छ र? नयाँ लगाए पो सबैले आँखा लगाउँछन्। त्यसैले अब पुरानो विचार होइन नयाँ विचार बोकेको नयाँ नेतृत्व पार्टीमा आबश्यक छ। अब पुरानै नेता पार्टीको नेतृत्व आए मान्छेलाई ‘इरिटेशन’ नै हुन्छ।
पार्टीलाई गतिशिल बनाइराखे मात्रै पार्टीका कार्यकर्ता परिचालन हुन्छन्, पार्टीप्रतिको आस्था र आशा टुट्दैन। नयाँ युवा पुस्ताको उत्पादन पार्टीभित्र गरिरहुनु पर्छ त्यसका लागि पनि म सक्षम छु। पार्टीमा धेरै कुरा परिवर्तन ल्याउन सक्छु, मैले नेतृत्व गर्दा त्यसैले म पार्टी सभापतिको उम्मेदवार हुने घोषणा गरेकी हुँ। विपीको मेलमिलाप, गिरिजाबाबुको सहमति,सहकार्य र एकता यी कुरालाई नै मैले अघि बढाउने छु। यी कुरामा मेरो जोड रहने छ। नेपाली कांग्रेस भनेकै राष्ट्रिय मेलमिलाप र एकता नै हो। यो नभए पार्टी जिवित रहन सक्दैन। पहिचान नै समाप्त हुन्छ। गिरिजाबाबुले गर्न नसकेका बाँकी काम मैले नै गर्छु।
–तपाई (कोइराला परिवार)का नेताहरुले पहिले पनि भन्नु भएको थियो। हामी संस्थापन पक्षमै एक भएर निर्वाचन लड्छौं भनेर तर एक्कासी किन पार्टी सभापतिमा लड्ने निर्णय लिनु भयो?
मैले आजमात्रै होइन पहिलेदेखि नै पार्टी सभापतिमा चुनाव लड्ने भन्दै आएकी थिए। मैले सभापतिमा लड्छु भनेर संस्थापन पक्षका धेरै शीर्ष नेताहरुलाई भनिसकेकी थिए। पार्टीलाई गतिशिल र गुटरहित बनाउन म सभापति बन्न चाहान्छु भनेर भन्दै आएकी थिए। मैले पार्टी सभापतिमा चुनाव लड्नका लागि पहिलेदेखि नै तयारी गर्दै आएकी थिए। सशांक र शेखर कोइरालासंग पनि कुराकानी भइरहेको छ। सशांकलाई मैले म सभापति तपाई महामन्त्रीमा लड्नुस् भनेर भनेकी पनि छु। उहाँले जवाफ त दिनु भएको छैन तर सकारात्मक हुनुहुन्छ।
जसरी मलाई पार्टीमा सिध्याउन अहिले षड्यन्त्र भइरहेको छ, मलाई बाइपास गरेर निर्णय गरिँदैछ, मैले के सहयोग गर्नु पर्ने हो त्यसका लागि तयार छु भन्दा भन्दै मलाई ‘माइनस’ गर्न खोजिएको छ। यो मलाई असैह्य भएको छ। पार्टीलाई नेतृत्व गर्न मसँग अरुभन्दा के क्षमता कम छ र? त्यसैले पार्टीलाई गतिशिल र गटबन्दीको अन्त्य गरेर एउटा सुदृढ पार्टी बनाउनकै लागि मैले सभापतिमा लड्ने निर्णय लिएकी हुँ।
–तपाई विपीको राष्ट्रिय मेलमिलाप, गिरिजाबाबुको सहमति, सहकार्य र एकतालाई जोड दिँदै अघि बढ्छु भन्नुहुन्छ तर अहिले तपाईको कोइरालाहरुवीच नै एकता छैन भन्छन् नी?
हेर्नुस् कोइराला परिवारमा एकता छैन भन्ने कुरा साँचो होइन। हामी निरन्तर छलफल गरिरहेकै हुन्छौं। सशांक र शेखर कोइरालाजीसंग निरन्तर कुरा भइराखेकै छ। हिजो अस्तिमात्रै सशांकजी मेरोमा आउनु भएको थियो। शेखरजी पनि छलफलका लागि आइराख्नु हुन्छ कुराकानी भइरहेकै छ।
सशांकजीकोमा हुने छलफलमा म गइराखेकै हुन्छु, हाम्रो भेटघाट भइराखेकै हुन्छ। म सभापतिमा लड्दै छु भनेर मैले सशांक कोइरालाजीसंग पनि भनेकी छु। उहाँ एकदमै खुशी हुनु भयो। एउटै परिवारका मान्छे दुःख सुख सबै हेरेकै छौं।संगै हुर्केका छाैं भनेपछि हाम्रो बीचमा किन विवाद हुने?जो चुनाव लडेपनि एकले अर्कालाई सहयोग गरेरै लड्ने हो भन्ने कुरा भएको छ।
मैले भनेकै छु म महिला पनि हुँ। ५१ प्रतिशत महिलाको पनि मैले नेतृत्व गर्नुपर्छ। लौ सशांक तपाईले अब मलाई सभापतिमा सघाउनु पर्छ भनेकी छु। मैले म सभापति लड्छु तपाई महामन्त्री बन्नु प¥यो भने उहाँले मैले सपोर्ट गरिहाल्छु नी भन्नु भएको छ। हाम्रोवीचमा सौहार्दपूर्ण सम्बन्ध छ। जो जहाँ उठेपनि हामीले एकअर्कालाई सहयोग गर्छौ मिलेरै चुनाव लड्छौं। हाम्रो आन्तरिक सहमति नै हुन्छ कोइराला परिवारभित्र।
–उसो भए संस्थापन पक्षबाट कार्यबाहक सभापति रामचन्द्र पौडेल वा अरु कोही सभापतिको उम्मेदवार बने तपाईले त्यसलाई स्वीकार गर्न सक्दिन भन्नु खोज्नु भएको हो?
हैन अब मैले सबै शीर्ष नेताहरुका अगाडि रामचन्द्रजीलाई भनेकै थिए। सशांंक जी पनि हुनुहुन्थ्यो। किन म सभापतिमा लड्दै छु? तपाईहरुले मलाई सहयोग गर्नुस् भनेर सवैलाई प्रस्ताव नै राखेकी थिएँ, केही दिन अगाडि चिनकाजी श्रेष्ठजीको घरमा बैठक बस्दा। तर मेरो कारणले पार्टीलाई क्षति नपुगोस् र नबिग्रियोस्। पहिले पनि म चुप लागेर बसेकै हो। मैले मात्रै बारबार त्याग गर्नु पर्छ भन्ने छैन अरुले पार्टीका लागि त्याग गर्दा पनि हुन्छ अब तपाईहरु पनि त्याग गर्न तयार हुनुपर्छ भनेकी छु। पार्टीका लागि उहाँहरुले पनि केही त्याग गर्नु पर्यो नी। पार्टी खराब हुन्छ त मेरो कारणले हुने होइन नी। अरुले पनि त त्याग्नु पर्यो नी मेरा लागि भनेर कुरा राखेकी थिए।
रामचन्द्रजी सिनियर नेता हुनुहुन्छ। त्यसैले उहाँलाई सहयोग गर्न कुनै आपत्ति छैन पाैडेलको नेतृत्वमा जान, सहयोग गर्नलाई तर उहाँले पनि त हामीलाई के गर्नु हुन्छ त्यो कुरा त भन्नु पर्यो भन्दा उहाँले केही भन्नु भएन। उल्टै हल्लाहरु आए उहाँहरुले आफू आफै बैठकहरु राख्नु भयो मलाई फिल भयो मलाई त उहाँहरुले माइनस पो गरेको हो की? यहाँ धेरै ठूलो ग्राइन डिजाइन छ। भित्रै खेल खेलिँदैछ। गिरिजाबाबुलाई त यहाँ उतिबेला सिध्याउने खेल भएको थियो। मलाई पनि सिध्याउने खेल भइरहेको छ, गिरिजाबाबुका विचारलाई मेटाउने प्रयास भइरहेको छ। यस्तो ‘ग्राइनडिजाइन’ त विपीको पालादेखि अहिलेसम्म भइरहेको छ नी।
–यो सब तपाईको बार्गेनिङमात्रै हो कि सभापतिमा चुनावै लड्नुहुन्छ?
होइन म सभापतिकै उम्मेदवार हो। बार्गेनिङ म गर्दिन। चुनाव लडेरै छोड्छु। मबाट कुनै पदका लागि बार्गेनिङ हुँदैन।
–संस्थापन पक्षले विधान संशोधन गरेर पदाधिकारीमै ‘एडजष्ट’ गराउने तपाईलाई प्रस्ताव ल्याएपछि के गर्नुहुन्छ?
म धेरै अगाडि बढिसके अब रोकिने वा ‘ब्याक’ हुने सम्भावना छैन। माहौल नै अर्कै भइसक्यो। साथीहरु उत्साहित भएका छन्, मेरो उम्मेदवारी घोषणाले सवैमा उत्साह ल्याएको छ। मैले दाबी छोडेर ‘ब्याक’ भए भने सबैभन्दा बढी दुःखी महिलाहरु हुन्छन्। आज उनीहरुलाई यत्रो उत्साह भएको छ कि नेपालका मात्रै होइन विदेशवाट समेत उत्साहित हुँदै फोन आउन थालेको छ। हामी असाध्यै खुशी छौं तपाई अगाडि बढ्नु हाम्रो साथ र समर्थन हुन्छ भनिरहेकै छन् महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरुले।
राष्ट्रपति पनि महिला, सभामुख पनि महिला अब हुने प्रधानन्यायाधीश पनि महिला अनि तपाई पार्टी सभापति किन नहुने भन्ने छ साथीहरुको भनाई। तपाई हुनु भयो भनेमात्रै हाम्रो पनि भविश्य बन्छ, हाम्रो पनि पालो आउँछ त्यसैले तपाई सभापति हुनु पर्छ। ५१ प्रतिशत महिलालाई मैले नेतृत्व गर्छु भने म सभापति हुन किन नपाउने नमिल्ने? महिलामात्रै भएर होइन क्षमता पनि हुनु पर्यो। मसंग राष्ट्र र पार्टी हाक्ने सक्ने क्षमता पनि छ। क्षमता तपाईले काम नगरी मूल्यांकन गर्न मिल्दैन।
–तपाईलाई पार्टी सभापति भएर के पार्टी राम्रोसंग चलाउन सक्छु जस्तो लाग्छ?
हेर्नुस् मान्छेको मूल्यांकन भाषणबाजीबाट गर्नुहुँदैन जिम्मेवारीबाट हुनुपर्छ। मैले अहिलेसम्म काम पाएको छैन तर म क्षमताबान नै छु त आफै भन्न मिल्दैन के कस्तो छु त्यो अरुले नै मूल्यांकन गर्ने हो। मैले काम गरेपछिमात्रै क्षमता के कस्तो रैछ भने देखिन्छ। मलाई विश्वास छ म नेतृत्वमा आए मैले आफ्नो जिम्मेवारी पूरा गर्छु।
पार्टीलाई एकताबद्ध राख्न सक्छु पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न सक्छु र बरिष्ठ नेताहरुको उचित मूल्यांकन गर्नेछु उहाँहरुलाई सम्मानका साथ उचित स्थान दिन्छु।
–तपाई सभापतिको उम्मेदवार बन्दै गर्दा संस्थापन पक्षकै सिनियर नेताहरुलाई कहाँनेर स्थान दिनुहुन्छ?
संस्थापनको सिनियर नेता रामचन्द्र पौडेलजी हो। उहाँले मलाई सभापतिमा सहयोग गर्नु पर्छ। मलाई सहयोग गरेर उहाँले प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्न सक्नुहुन्छ, संसदीय दलको नेता हुन सक्नुहुन्छ। मैले गर्दा उहाँहरु समस्यामा पर्नुहुन्न अहिलेसम्म समस्यामा परेकी छु जस्तो पनि लाग्दैन। संस्थापनबाट मलाई नै सभापतिको एक्लो उम्मेदवार बनाउन पौडेलजीले सहयोग गर्नुपर्छ।
–तपाई सभापतिमा उठ्दा तपाईको महामन्त्रीको उम्मेदवार को बन्छ?
त्यो तपाईहरुले चाडै थाहा पाउनुहुनेछ। केही दिनमै म महामन्त्री र कोषाध्यक्षसहितको प्यानल नै घोषणा गर्छु। त्यसकै तयारीमा लागेकी छु।सकभर सवैलाई मिलाएर लैजाने मेरो प्रयत्न हुन्छ।
–तपाई सभापतिमा उठ्दा तपाईले जित्छु जस्तो लाग्छ, कति मत ल्याउँछु भन्ने छ?
निर्वाचन भनेको लोकतान्त्रिक अभ्यास हो। मैले सभापतिमा चुनाव जित्छु भन्ने नै लाग्छ। मलाई बलियो समर्थन छ, तराई मधेश, हिमाल पहाड, महिला, आदिवासी जनजाति, पिछडिएका वर्ग सबैको सहयोग छ। म ढुक्क छु म चुनाव जित्छु।
यति उति भन्न सक्दिँन तर म राम्रै भोट ल्याएर सभापतिको चुनाव जित्छु। आन्तरिक प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धाबाट डराउनु हुँदैन म पनि प्रतिस्पर्धा गर्न डराउँदिन। प्रतिस्पर्धाबाटै आएको नेतृत्व सबल हुन्छ। टपक्कै टिपेर ल्याएको नेतृत्वको काम छैन।
–संस्थापन पक्षभित्रै तपाईहरु विभाजित भएर चुनाव लड्दा त्यसको फाइदा अर्को पक्षले फाइदा लिन्छ जस्तो लाग्दैन्?
मलाई त्यस्तो लाग्दैन चुनाव संस्थापन पक्षले नै जित्छ। हामी मिलाइहाल्छौं नी। म सबै कुरा मिलाउँदै छु। संस्थापन पक्षका कार्यबाहक सभापति रामचन्द्र पौडेलसहितका सबै नेताहरुलाई मैले मेरो पक्षमा ल्याउने प्रयास गर्छु। म सभापतिमा लड्ने र उहाँहरुले मलाई समर्थन गर्ने स्थिति आउँछ त्यो सम्भव पनि छ। सवै नेताहरुलाई उचित स्थान दिन्छु। उहाँ पौडेललाई उचित स्थान नै दिन्छु। कोइराला परिवार हामी एक नै छौं। शेखर र सशांकले पनि मलाई सहयोग र समर्थन गर्नुहुन्छ। सबै कुरा भइरहेको छ।
–अन्तमा भनिदिनुस् संस्थापन पक्षबाट रामचन्द्रजी नै सभापतिमा उठे तपाई साच्चिकै सभापतिमा उठ्नुहुन्छ त? कि आफ्नो निर्णयबाट पछि हट्नु हुन्छ?
हो, अब म पछि हट्न सक्दिनँ। म धेरै अगाडि बढिसके। मैले अघि भनिसकेकी छु, म अब ‘ब्याक’ हुने स्थिति छैन। संस्थापन पक्षबाट एक्लो उम्मेदवार हुन प्रयास गर्छु, नभए पनि सभापतिमै प्रतिस्पर्धा गर्छु।setopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.