-->
चार वर्षपछि बाबुरामको गुनासो: 'प्रधानमन्त्री हुँदा बजेट प्रस्तुत गर्नै पाइनँ'
Advertisement


नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले
बजेट प्रस्तुत गर्न नदिइएकै कारण आफ्नो
प्रधानमन्त्रीकालमा समृद्धिका लागि काम गर्न
नसकेको गुनासो गरेका छन्। २०६८ को सुरुवातमै
प्रधानमन्त्री निर्वाचित भएका डा. भट्टराईले चार
वर्षपछि बजेटका कारण नै काम गर्न नसकेको दु:खेसो
पोखेका हुन्।
आइतबार 'नयाँ शक्ति, नेपाल'को केन्द्रीय अन्तरिम
परिषदको पूर्ण बैठकको निर्णय सार्वजिनक गर्न
आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जिकिर
गरेका हुन्।
नयाँ शक्तिको दस्तावेजको अधिकांश ठाउँमा
'विकास' र 'आर्थिक समृद्धि'मा विशेष जोड
दिइएको छ। आर्थिक समृद्धिकै लागि पार्टी र आफू
क्रियाशील हुने बताएका भट्टराईलाई पत्रकारको
जिज्ञासा थियो,'यही काम तपाईं प्रधानमन्त्री
बन्दा किन गर्नुभएन?'
जवाफमा भट्टराईले भने,'म मात्रै यस्तो प्रधानमन्त्री
हुँ जसलाई बजेट प्रस्तुत गर्नै दिइएन। बजेट नै नभइ मैले मेरो
कार्यक्रम कसरी कार्यान्वयन गर्ने?'
उनल आफू अर्थमन्त्री हुँदा राम्रो काम गरेको कुरा पुन
एकपटक दोहोर्याए, 'अर्थमन्त्री हुँदा करको दायरा
नबढाइकन सुशासनमार्फत् राजश्व संकलन बढाएको कुरा
अर्थविदहरुले आजपनि प्रशंसा गर्नुहुन्छ। ६५/६६को बजेट
आजसम्मकै उत्कृष्ट भन्नुहुन्छ।'
नयाँ शक्तिमा गए पनि लालध्वजकै मोह
तत्कालीन नेकपा माओवादी भूमिगत हुँदा प्रयोग
गरेको नाम लालध्वज उनले अझै छोड्न नसकेको भन्दै
सञ्चारकर्मीले सोधे, 'तपाईंले पार्टी छोड्नुभयो, संसद
छोड्नुभयो तर लालध्वज नाम चाहिँ किन छोड्न
नसक्नुभएको?'
'बीआरबी लालध्वज' नामक ह्यान्डलबाट ट्वीटर
चलाइरहेको उनले उक्त नामप्रति मोह नभएको बताए।
युद्धकालीन पृष्ठभूमिमा लालध्वज नाम राखिएको र
त्यसप्रति मोह नभएको प्रष्ट्याउन खोज्दै भट्टराईले
भने,'मेरो न्वारानको नाम मुक्तिप्रसाद हो। आमाले
मायाले बाबु राम भनेर बोलाउँदै बोलाउँदै बाबुराम
भएँ।' युद्धकालमा लालध्वजसहित थुप्रै नाम प्रयोग
भएको बताउँदै उनले भने, 'म अहिले बाबुराम भट्टराई नै
हुँ।'
शान्ति, अहिंसा र मानवअधिकारप्रति पूर्ण
बफादार रहने प्रतिबद्धता गरेका डा.भट्टराईले
युद्धकालीन नाम प्रयोग गरिरहे झैं मार्क्सवाद
पूर्णरुपमा त्यागेको र नयाँ शक्ति विचारहिन भएको
भन्ने आरोपको खण्डन गरे। उनले मार्क्सवाद र
त्यसपछिका ज्ञान र वैज्ञानिक उपलब्धिहरुको
प्रयोग नयाँ शक्तिले गर्ने दाबी गरे।
उनले नवउदारवादी विचार र मार्क्सवाद दुवैका
समस्याहरु प्रष्ट भएको र त्यसलाई छोडेर आफू अघि
बढेको बताए।
जसका लागि भए पनि विकास
सर्वहारा वर्गको राजनीतिक पृष्ठभूमिबाट स्थापित
भएका डा. भट्टराई पछिल्लो समय उदारवादी
विचारका पक्षधरहरुसँग नजिकिँदै गएका छन्।
एमाओवादी नेता तथा बामपन्थी विश्लेषकहरुले उनी
निम्नवर्गीय पक्षधरता त्यागेर शहरीया
मध्यमवर्गीयको नेता बन्न लागिपरेको आरोप लगाउने
गरेका छन्।
पत्रकार सम्मेलनमा डा.भट्टराईले पनि कुन वर्गका
लागि विकास भन्नेकुरा आफ्नो लागि महत्वपूर्ण
नरहेको प्रष्ट पारे।
एक प्रश्नको जवाफ दिँदै उनले भने,'पहिलो कुरा त
आर्थिक बृद्धि हो। पहिला नै कुन वर्गको भन्ने कुरा
गर्यौं भने त्यो गरिबी बाँड्ने कुरा हुन्छ। हामी
समृद्धि बाँड्न चाहन्छौं।' उनले पहिले प्रतिव्यक्ति आय
बढाउने कुरामा आफ्नो ध्यान केन्द्रीत हुने बताए।Setopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.