रत्ननगर (चितवन), २४ माघ । सन् २०१५ मा कुनै पनि
गैँडा चोरी सिकारबाट नमारिएको
खुसियालीमा आज चितवनमा ‘सून्य चोरी
सिकार वर्ष २०१५’ मनाइएको छ ।
यसअघि सन् २०११ र २०१३ मा सून्य चोरी सिकार
वर्ष मनाइसकिएको छ । वन्यजन्तु अपराध नियन्त्रण
समन्वय समितिले कार्यक्रम गरेको हो । विसं २०७१
वैशाख २० देखि आजसम्म ६४५ दिन नै शून्य चोरी
सिकार अवधि रहेको निकुञ्ज विभागका
महानिर्देशक तथा वन्यजन्तु अपराध नियन्त्रण समन्वय
समितिका सदस्य सचिव फणीन्द्रराज खरेलले
जानकारी दिनुभयो ।
कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद
सापकोटाले सून्य चोरी सिकार मनाउन सफल हुनु
प्रकृति र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण आयाम भएको
र यसले सामूहिक प्रयासको नयाँ सन्देश दिएको
बताउनुभयो । “हामी गर्न सक्छौँ भन्ने सन्देश यो
उपलब्धिले दिएको छ, सामूहिकता नै सबैभन्दा ठूलो
कुरा हो भनेर पाठ समेत सिकाएको छ, यसले
अन्तर्राष्ट्रियरुपमै गौरव बढाएको छ ”, मन्त्री
सापकोटाले भन्नुभयो ।
नेपालमा प्रहरी, सेना, स्थानीयवासी र
संरक्षणकर्मीको संयुक्त सहभागितामा संरक्षण
भइरहेको छ । वन्यजन्तु संरक्षणमा जनस्तरमा चेतना
अभिवृद्धि भएको र वन्यजन्तुको चोरी सिकार
तथा अवैध व्यापार नियन्त्रणमा प्रभावकारी
कार्यसम्पादन भएकाले संरक्षण सफल भएको चितवन
निकुञ्जको निष्कर्ष छ ।
नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको
काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य
वासस्थान छ । सन् १९५० को दशकमा ८०० को
सङ्ख्यामा रहेको अनुमान गरिएको गैँडा विसं
२०२४÷२५ तिर ८१ देखि १०० मा झरेको अनुमान
गरिएको थियो । हालैको गैँडा गणनाबाट
नेपालमा ६४५ र चितवन निकुञ्जमा गैँडाको
सङ्ख्या ६०५ रहेको तथ्याङ्क छ । चोरी सिकार
नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी
सिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी
परिचालन, सुराक सङ्कलन कार्य गरिएको निकुञ्जले
जनाएको छ ।
यस्तै कुकुरको प्रयोगसँगै अत्याधुनिक प्रविधिको
प्रयोग गरेर गस्ती हुने गरेको चितवन निकुञ्जका
प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी
दिनुभयो । यसैबीच आज सून्य चोरी सिकार वर्ष
मनाउने कार्यक्रममा संरक्षणमा सक्रिय भएका आठ
संस्था र १३ संरक्षणकर्मीलाई कदरपत्रसहित सम्मान
गरिएको छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...