क्वालालम्पुर । ‘विश्वास गरेँ, माया गरेँ, आज धोका
भयो,’ उदास मुद्रामा कृष्णले भने ।
गत बुधबारदेखि कृष्ण बेचैन छन् । नवलपरासीका कृष्ण मगर
अहिले २८ का भए । चार वर्षअघि उनी रोजगारीको
सिलसिलामा लेबनानमा थिए । कृष्णका तीन भाइ
अनि बहिनी छन् । जेठो छोरा भएकाले परिवारको
जिम्मेवारी पनि उनैको काँधमा थियो ।
लेबनानको गुडुवा भन्ने ठाउँमा उनी कन्स्ट्रक्सनको
काम गर्थे, दिनभरिजसो सिमेन्टसँग खेल्नुपथ्र्यो ।
दिनभरि काम गर्थे । कामबाट फर्केपछि खाना
खाइवरी बिस्तारामा पल्टँदै फेसबुक चलाउँथे । एक दिन
सर्च गर्दै जाँदा उनले एउटी केटी साथी भेटे- राधा
मगर -नाम परिवर्तन), उमेर २६, घर सुनसरी, लेबनानको
मुगगुवामा रोजगारी ।
‘मैले फ्रेन्ड रिक्वेस्ट पठाइहालेँ,’ कृष्ण भन्छन्, ‘उनले पनि
तुरुन्तै स्विकारिन् । च्याट हुन थाल्यो । दुवै नेपाली,
एउटै देशमा काम गर्ने भएपछि घनिष्ट पनि भइयो ।’
उनीहरू फुर्सद हुनासाथ च्याट गर्थे । पछि फोनमा
कुरा हुन थाल्यो । ‘घन्टौँ फोनमा कुरा हुन्थ्यो, रात
बितेको समेत पत्तो पाउँदैनथ्यौँ,’ कृष्ण भन्छन्, ‘हामीले
एकअर्कालाई मन पराउन थाल्यौँ । माया बस्न गयो ।
मैले कुनै केटीको फोटो वा स्टाटसमा कमेन्ट गरे भनेँ
उनी रिसाउँथिन् । उनले कुनै केटाको फोटोमा कमेन्ट
गरे मलाई रिस उठ्थ्यो ।’
कृष्णले काम गर्ने र राधाले काम गर्ने दूरी निकै टाढा
थियो । एकै देशमा भएर पनि उनीहरूले भेट्न समेत पाएनन्
।
त्यहाँ १८ महिना काम गरेर कृष्ण नेपाल फर्किए ।
त्यसपछि लगत्तै मलेसिया आए, ३४ महिनाअघि ।
‘मलेसिया पेनागको इलेक्ट्रोनिक कम्पनीमा राम्रै
काम पाएँ । कमाइ पनि राम्रै छ,’ कृष्ण भन्छन्, ‘उनी
लेबलानमै थिइन् । फेसबुकमा च्याट भइरहन्थ्यो । भिसा
सकिएपछि उनी पनि नेपाल फर्किन् । मैले उनलाई
मलेसिया बोलाएँ । उनले तपाईंले बोलाउनुहुन्छ भने
आइहाल्छु भनिन् ।’
नेपाल पुगेको तीन महिनामै राधा पनि मलेसिया
पुगिन्, कृष्णले काम गर्ने कम्पनीमै ।
फोनमा कुराकानी र फेसबुकको च्याटमा रमाउने
उनीहरूको पहिलो देखभेट मलेसियामा भयो । काममा
जाने, बस्ने-खाने सँगै हुन थाल्यो । कृष्ण भन्छन्,
‘बिदाको समय घुम्न पनि जान्थ्यौँ । फोटो
खिच्थ्यौँ । सँगै भएको फोटो फेसबुकमा पनि
राख्थ्यौँ ।’
गत हप्ता भने उनीहरुको सम्बन्धले अर्को मोड लियो ।
राधा कृष्णको सम्पर्कमा आइनन् ।
‘हामीबीच कुनै त्यस्तो झगडा भएको पनि थिएन,’
कृष्ण भन्छन्, ‘मेरो आठ हजार रिगेट र दुई तोला सुन
लिएर उनी बेपत्ता भइन् । फोन गर्दा अर्कै लोग्ने
मानिसले उठाएर भन्छ, अब फोन नगर, राधालाई
बिर्सिदेऊ ।’
कृष्ण अहिले केही सोच्नै सकिरहेका छैनन् । भन्छन्,
‘माया र विश्वासमा धोका भयो, के गर्ने ?’
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...