फागुन १५ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अध्यक्षामा जानी इन्फान्टिनो चयन भएका छन् । स्वीजरल्याण्डको ज्युरिचमा भएको चुनावमा युइएफएका महासचिव समेत रहेका इन्फान्टिनोले एक सय १५ मत प्राप्त गरे । यो उनका निकटतम प्रतिद्वन्द्वी रहेका एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालिफाले प्राप्त गरेको भन्दा २७ मत धेरै हो । चार मत प्राप्त गरेका जोर्डनका राजकुमार अली बिन अल हुसैन तेस्रो स्थानमा रहे । फ्रान्सका जेरोमी स्याम्पेनले एक मत पनि प्राप्त गरेनन् । नवनिर्वाचित फिफा अध्यक्ष इन्फान्टिनोले अब पूर्व अध्यक्ष सेप ब्लाटरको स्थान लिने छ । सन् १९९८ देखि फिफाको अध्यक्ष रहेका ब्लाटर भ्रष्टाचार आरोपमा गएको वर्ष निलम्बनमा परेका थिए । उनीमाथि फिफाको अनुशासन कमिटिले फुटबल सम्बन्धी कुनै पनि गतिविधिमा सहभागि हुन नपाउने गरी ६ वर्षको प्रतिबन्ध लगाएको छ ।
फिफाको अध्यक्षमा निर्वाचित भएका इन्फान्टिनो पेशाले वकिल हुन् । स्वीजरल्याण्डका इन्फान्टिनोको घर ब्लाटरको घरबाट मात्रै ६ माइलको दूरीमा पर्छ । युइएफएका अध्यक्ष मिचेल प्लाटिनी भ्रष्टाचार आरोपमा प्रतिबन्धमा परेपछि इन्फान्टिनाले फिफाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
दुई सय सात जना मतदात रहेको चुनावको पहिलो चरणमा विजेताको टुंगो लागेको थिएन । जितका लागि कम्तिमा एक सय ४ मत ल्याउनु पर्ने भएपनि पहिलो चरणमा इन्फान्टिनोले ८८ मत ल्याएका थिए । त्यसपछि भएको दोस्रो चरणको चुनवामा उनी विजयी भएका हुन् ।
– Ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...